श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको छ । श्रमदान अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख राई, वडाध्यक्ष ध्रुवबिक्रम राई, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।
जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्ने लगायतका काम गरिएको छ । पहिलो दिनको श्रमदानमा चारवटा ट्याक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको नगरप्रमुख भट्टराईले बताए ।
“पहिलो चरणमा नगरपालिकाभित्रपर्ने ग्रामीण सडकहरु मर्मत गर्ने कामबाट शुरु गरिएको श्रमदान अभियान हाम्रो कार्यकालभरी जारी राख्नेछौँ नगरप्रमुख भट्टराईले श्रमदान अभियान अन्तरगत नगरपालिकाभित्रका सडक, सार्वजनिकस्थलहरुको मर्मत तथा सरसफाइ लगायतका क्रियाकलाप गरिनेछ”, “नगरपालिकाले शुरु गरेको श्रमदान अभियानले नागरिकमा श्रम सँस्कृतिको विकास पनि हुने अपेक्षा गरिएको छ ।”
श्रमदान अभियान अन्तरगत दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुङ्गाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । नगरपालिकाको जेसीबी र व्यवसायीको ट्याक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन् ।
नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पस लगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु समेत सहभागी हुने भएका छन् । जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।
सानातिना विकासे योजनाका लागि समेत सरकारको मुख ताक्ने सँस्कृतिको विकास भइरहेको अवस्थामा नगरपालिकाले श्रमदान अभियान शुरु गरेर राम्रो सन्देश दिएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए । “हाम्रो समाजमा आफूले गरेको फोहरसमेत अरुले नै गरिदिनुपर्ने सँस्कारको विकास हुँदै गएको छ । यो राम्रो होइन”, उनले भने, “नगरपालिकाले शुरु गरेको श्रमदान अभियानले आफ्नो लागि आफै गर्न सक्छौँ भन्ने सन्देश दिएको छ । यो अभियान कसैको लागि लक्षित गरेर लागू गर्नुभएन । एकजना व्यक्तिको फाइदाको लागि गर्नुभएन । सार्वजनिक सरोकारका विषयलाई समेट्न सक्नुपर्छ । त्यसो गरेको खण्डमा अभियान सफल हुन्छ ।”
जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सबै सकारकारी कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मध्यपहाडी लोकमार्ग बाहेक अन्य ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् । दिउँदमा हिलो र वर्षामा हिलोको कारण करिब छ महिनामात्र सञ्चालन हुँदै आएको सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्नेगरी नगरपालिकाले श्रमदान अभियान थालेको हो ।
No comments: