बिहेभोजको सट्टा गाउँलेलाई उपचार, विद्यार्थीलाई न्यानो कपडा

 



चर्चित युटुबर तथा सञ्चारकर्मी मोहन बस्नेतले केही समय पहिले सुटुक्क बिहे गरे । बिहेलाई सहकर्मी शुभचिन्तकले आश्चर्य पनि माने । तर, बस्नेतले बिहेको खर्चलाई सामाजिक कार्यमा खर्च गर्ने घोषणासहित सामाजिक सञ्जालबाट बिहेमा तामझाम गर्न नसकेकोमा क्षमायाचना गरे ।

उनको कदमले भड्किलो बिहेलाई निरुत्साहित गर्न मलजल गर्‍यो । शनिबार आफ्नै गाउँमा उनले विशेषज्ञसहितको स्वास्थ्य शिविरको आयोजना गरे । शिविरमा बस्नेतको जोडीले आशीर्वाद र करिब चार सय नागरिकले सेवा पाए । 


रेसुंगा नगरपालिका– ३ की ७७ वर्षीया पम्फी विश्कर्मा शिविरमा खुसी थिइन् । उनी सुगर र प्रेसरका कारण स्वास्थ्य परीक्षण गर्न शिविरमा आएकी थिइन् । विश्वकर्मा आफ्नै घरछेउमा विशेषज्ञ डाक्टरबाट नि:शुल्क चेकजाँच र औषधि पाएपछि उत्साहित नहुने कुरै भएन । ‘नेताले चुनावपछि गरिब र रोगी मान्छे हेर्दा रहेन्छन् । गाउँकै बाबुले शिविर ल्याएर डाक्टर देख्न र औषधि खान पायौँ,’ उनले भनिन्, ‘यो जोडीलाई हाम्रो आशीर्वाद लागोस् ।’ 

रेसुंगा नगरपालिका– ३ की ६९ वर्षीया गनकला कुँवरले पनि शिविरमा स्वास्थ्य परीक्षण गराइन् । उनलाई मुटु र दमको समस्याले तम्घास र पाल्पा धेरैपटक पुग्नुपर्‍यो । बाहिर जाँदा शरीरलाई कष्ट र पैसा खर्च उस्तै । त्यसैले पनि कैयौँले घरमै रोग लुकाएर बस्दा ज्यान नै जोखिममा पर्ने गरेको छ । 



भाडगाउँकै ७० वर्षीय टीकाबहादुर खत्री र श्रीमती ६४ वर्षीया परसुता खत्री पनि शिविरमा औषधिकै प्रतीक्षामा थिए । टीकाबहादुरलाई नाै वर्षदेखि दमको समस्या छ ।  श्रीमती परसुता मिर्गौलापीडित हुन् । दुवैजना बिमारको फलोअप गर्न पाल्पा र बुटवल पुग्थे । तर, गाउँमै नि:शुल्क शिविर सञ्चालन भएपछि ठूलो राहत भयो । ‘बुढाबुढी नै बिमारी भएपछि खर्चमाथि खर्च छ । पाल्पा बुटवल जान थोरै खर्चले हुँदैन,’ टीका बहादुरले भने, ‘घरछेउँमै डाक्टर भेट्दा खुसी भयौँ ।’  ६३ वर्षीय मेरसिंह कुमाल पनि खुट्टा दुख्ने समस्याले पीडित भएपछि शिविरमा आए । डाक्टरको उचित सल्लाह र चेकजाँचले खुसीका साथ घर फर्किए ।

यी सबै प्रतिनिधि पात्र हुन् । रेसुंगा नगरपालिका- ३ को भाडगाउँमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा करिब चार सयजनाले ओपिडी सेवा लिएका छन् । ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, एक सय आठजनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाब जाँच र ६५ जना विद्यार्थीको रक्त समूह परीक्षण गरिएको शिविरको प्राविधिक पक्षको व्यवस्थापन गरिरहेका सामाजिक अभियन्ता भरतजंग क्षेत्रीले जानकारी दिए।

६५ जना विद्यार्थीको पनि रगतको समूह परीक्षण गरिएको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग विशेषज्ञ डाक्टर नवीन तिवारी, कन्सल्टेन्ट फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग विशेषज्ञ डाक्टर आशिम रेग्मीसहितका डाक्टरले शिविरमा सेवा प्रदान गरेका थिए । 

सबैभन्दा धेरै सुगर, प्रेसर र मानसिक समस्याका बिरामी

शिविरमा आएका बिरामीमा सबैभन्दा धेरै सुगर, प्रेसर र मानसिक समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर शम्भु खनालले जानकारी दिए । ‘शिविर आयोजनाको पवित्र उद्देश्य र व्यवस्थापकीय पक्ष निकै राम्रो लाग्यो । बिरामीमा सुगर, प्रेसर र मानसिकजस्ता राष्ट्रिय समस्या देखिए,’ उनले भने,’ अत्यधिक रक्तचाप भएका व्यक्ति पनि विनाऔषधि र उपचार हिँडिरहेको विडम्बना पत्ता लाग्यो ।’ उनले हरेक गाउँमा स्वास्थ्य सचेतनाको कमी रहेको बताए ।

गाउँमै नि:शुल्क स्वास्थ्य शिविर हुने भएपछि स्थानीय पनि खुसी थिए । भाडगाउँको नजिकै तम्घासका स्वास्थ्य संस्थाहरूको पहुँच भए पनि विशेषज्ञसहितको उपचार पाउन पाल्पा बुटवल पुग्नुपर्ने बाध्यता छ । 

जसका कारण घरछेउँमा नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि पाउँदा गरिब तथा विपन्न परिवारलाई ठूलो राहतको महसुस भएको रेसुंगा नगरपालिका- ३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए । 

उनले गाउँमा परोपकार र सदाचार हराउँदै गइरहेका वेला मोहन बस्नेतले बिहेको खर्च कटौती गरेर आयोजना गरेको स्वास्थ्य शिविरले निकै ठूलो सामाजिक सन्देश बोकेको बताए । 

२७ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान

त्यस्तै, बस्नेतको परिवारले केही दिनअघि उपल्लो तम्घास माविका २७ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् । विद्यालयमा बहिरा तथा सुस्तमनस्थिति भएका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । 

बस्नेतले युटुबमार्फत दर्जनौँ व्यक्तिकाे नि:शुल्क उपचार, बेसहाराको साथ र गरिब तथा विपन्न परिवारलाई गाँसमा सहयोग गर्दै आएका छन् । उनी मिडिया अवार्ड तथा नेपाल सरकारबाट जनसेवा श्री पञ्चमबाट सम्मानित भएका छन् । ‘सानैबाट सामाजिक काममा रुचि थियो । उमेरसँगै कर्महरू त्यस्तै बने,’ उनले भने, ‘बिहे खर्च कटाएर पनि गाउँमै केही गर्न सक्यौँ, परिवार नै खुसी छौँ ।’

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post