नेपालमा विदेशी पर्यटक आगमनमा उत्साहजनक वृद्धि भएसँगै तारे स्तरका होटल, रिसोर्ट तथा रेष्टुरेन्टमा लगानी बढ्दै गएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्ध को जन्मस्थल नेपालमा पर्यटन पूर्वाधार विस्तार हुने क्रम तीव्र भएको देखिएको हो।
पछिल्लो समय पर्यटन सेवा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ। यसको प्रत्यक्ष प्रभाव काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज र भद्रपुर लगायतका प्रमुख पर्यटकीय सहरमा देखिएको छ।
यी क्षेत्रमा नयाँ तारे होटल, लक्जरी रिसोर्ट तथा आधुनिक आतिथ्य सेवाका संरचना सञ्चालनमा आउने क्रम उल्लेखनीय रूपमा बढेको छ। पर्यटन व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय उडान विस्तार, धार्मिक पर्यटन, साहसिक पर्यटन र सम्मेलन पर्यटनको सम्भावनाले होटल उद्योगमा नयाँ लगानी आकर्षित गरिरहेको छ।
विशेषज्ञहरूले बढ्दो होटल निर्माणलाई नेपालको पर्यटन उद्योगको दीर्घकालीन सम्भावनामाथिको विश्वासको संकेतका रूपमा लिएका छन्। उनीहरूका अनुसार गुणस्तरीय आवास सुविधा विस्तारले उच्च खर्च गर्ने विदेशी पर्यटक आकर्षित गर्न सहयोग पुग्नेछ भने स्थानीय रोजगारी र क्षेत्रीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
